एसपी रिपोर्टर
काठमाणडौं ,साउन २०
:कृषि ज्ञान केन्द्र महोत्तरीमा स्यालो ट्युबवेलका लागि २५ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् ।

मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत गरी १ करोड ६५ लाख बजेटको स्यालो ट्युबवेल जडानका लागि माग गरेको आवेदनमा २५ यसभन्दा बढी आवेदन परेको हो । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवका अनुसार सात दिनमा २५ सयभन्दा बढी किसानले सिँचाइ गर्ने स्यालो ट्युबवेलका लागि आवेदन दर्ता गराएका हुन् । जिल्लाभरका लागि ७० लाख र सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र औरही नगरपालिकामा १५/१५ लाख तथा जलेश्वर नगरपालिकामा २० लाख बजेट स्यालो ट्युबवेलका लागि प्रदेश सरकारले विनियोजन गरेको छ ।’खडेरीले किसान समस्यामा परेको बेला ट्युबवेल वितरण गर्न कार्यालयमा बजेट न्युन र माग उच्च छ,’ प्रमुख यादवले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटमा ७५ देखि ८० वटासम्म मात्रै स्यालो ट्युबवेल जडान गर्न सकिन्छ ।’ अहिले फाराम भर्न उपभोक्ताको भिड लागेको छ ।

स्यालो ट्युबवेलमा माग धेरै भएपछि मन्त्रालयमा जानकारी गराएको र बजेट बढाउन आग्रह गरिएको प्रमुख यादवले बताए ।