एसपी रिपोर्टर
पर्सा ,साउन १८
: देशको आयात निर्यात व्यापारमा आधा भन्दा बढी योगदान रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहमा पूर्वाधार बिस्तार गरिँदै छ ।

जाँच चौकीमा विश्व बैंकको ऋण सहयोगमा पूर्वाधार बिस्तार गरिँदै छ । सुक्खा बन्दरगाहमा विश्व बैंक तथा इन्टर मोडल यातायात विकास समितिको आफ्नै लगानीमा पूर्वाधार विस्तार गर्न लागिएको हो ।विश्व बैंकको रणनीतिक सडक सञ्जाल आयोजना अन्तर्गत आईसीपीमा पूर्वाधार विस्तारको काम भइरहेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । यहाँ जुलाई २४ बाट काम सुरु भइसकेको छ । ४० हजार वर्गमिटरको पार्किङ, गोदाम, जाँचपास सडक र धर्मकाँटा निर्माण गरिँदै छ ।यो विश्व बैंकको सफ्ट लोन अर्थात ऋण सहयोग परियोजना हो । दुई दशक अघि बन्दरगाह निर्माणमा पनि विश्व बैंकले नै लगानी गरेको थियो । बिकेओआई/पिआर/नव कान्तिपुर ज्वाइन्ट भेन्चरको कम्पनीले ३९ करोड ८० लाख रुपैयाँमा बन्दरगाहमा यी पूर्वाधार निर्माणको ठेक्का पाएको गजुरेलले बताए ।सन् २००४ देखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह नेपालको पहिलो र ठूलो सुक्खा बन्दरगाह पनि हो । ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो बन्दरगाहको अधिकतम क्षमता १ हजार ५ सय ८६ कन्टेनर हो । तर सधै क्षमताभन्दा बढी कन्टेनर व्यवस्थापन गर्नुपर्ने दायित्वको कारण बन्दरागाह सञ्चालक कम्पनीलाई समस्या हुँदै आएको छ ।भारतीय रेल्वे सञ्जालसँग जोडिएको यो बन्दरगाहबाट भारतको कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाह हुँदै मालवस्तु आयात निर्यात हुने गर्छ । भारतबाटै पनि चिनी, रासायनिक मल, फलाम, कोइला आदि वस्तु आयात हुने गरेको छ ।इन्टरमोडल यातायात विकास समितिले निजी क्षेत्रलाई हाल यो बन्दरगाह सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । पहिलो डेढ दशक हिमालयन टर्मिनल कम्पनीले सञ्चालन गरेको यो बन्दरगाह हाल प्रिष्टिन भ्याली कम्पनीले सञ्चालन गरिरहेको छ । यही कम्पनीले आउँदो ५ वर्षका लागि पनि बन्दरगाह सञ्चालनको ठेक्का पाएको छ ।सुक्खा बन्दरगाहमा १० हजार वर्ग मिटरको लुज कार्गो पार्किङ यार्ड निर्माणमा विश्व बैंकको लगानी छ । जसमा १ हजार १ सय मिटर लामो र २५ मिटर चौडा सर्फेस ढलान हुने छ ।यसका साथै ३ र ५ नम्बर रेल्वे लेनको बीचमा क्रंकिट जडान गरिने छ । साथै सवारी चालकलाई आराम कक्ष र शौचालय, १ सय २० टन क्षमताको धर्मकाँटा समेत निर्मााण गरिनेछ । १९ करोड २० लाख रुपैयाँ लागतको यो ठेक्का ब्रदर/रेनियान्स ज्वाइन्ट भेन्चरको कम्पनीले पाएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम आइसिपि र सुक्खा बन्दरगाहको व्यस्तता बढेसँगै यीनको क्षेत्र विस्तार र पूर्वाधार थप गर्नुपर्ने आवश्यक रहेको बताउँछन् । हाल बन्द रहेको बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियालाई अविलम्ब टुंग्याएर बन्दरगाह र चौकी दुबैको क्षेत्रफल विस्तार गरिनुपर्ने उनले बताए ।