एसपी रिपोर्टर
जनकपुरधाम , साउन ३ : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सञ्चालन गरिएको तीन महिने निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा सहभागी २२५ मध्ये १०० जना प्रशिक्षार्थीहरू उत्तीर्ण भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि ८९ वर्षीया जेष्ठ नागरिक रामपरी देवी बडहीले पहिलो प्रमाणपत्र प्रशिक्षार्थी स्नेहा ठाकुरलाई प्रदान गरेकी थिइन्।तालिममा प्रतिभा पण्डित र विटु कुमार मण्डलले समान अंक प्राप्त गरे पनि गोलाप्रथाबाट मण्डललाई प्रथम घोषणा गरिएको थियो। यद्यपि बराबरी अंकका आधारमा दुबै जनालाई कम्प्युटर सेट पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। निशान्त मिश्र दोस्रो र युवराज ठाकुर तेस्रो भएका छन्।

वडाध्यक्ष पजियारले तालिम सञ्चालनका लागि आफ्नै खर्चमा २० वटा कम्प्युटर खरिद गरेका थिए। उनका अनुसार, पूर्वाधार निर्माणमा बढी बजेट खर्च हुने भएकाले सीपमूलक तालिममा निजी लगानीमार्फत युवाहरुलाई डिजिटल सीपमा दक्ष बनाउन तालिम सञ्चालन गरिएको हो।उक्त तालिमले स्थानीय युवा–युवतीहरूलाई डिजिटल सीप विकासमार्फत रोजगारीको अवसरतर्फ उन्मुख गराएको आयोजकको भनाइ छ। वडाध्यक्ष पजियारले आगामी दिनमा रोजगारमुखी ब्यूटिशियन तालिम र लोकसेवा आयोग तयारी कक्षा जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको बताए।







