एसपी रिपोर्टर
धनुषा , ३२ असार
: वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् ।प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो ।प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाएको छ ।वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने र त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने छन् भने सञ्चालन नेपाली सेनाले गर्नेछ ।यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर मार्फत पनि प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् ।यस्तै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ।‘सुक्खा र खानेपानी संकटका कारण पिडित नागरिकसँग प्रदेश सरकार साथमा छ । संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौं,’ मुख्यमन्त्री सिंहले भने ।खानेपानी संकटले प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले प्रदेश सरकारले सबै संयन्त्र र स्रोत परिचालन गरेको जनाएको छ ।