एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ :
मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुुमार लेखीले प्राकृतिक विपदका घटनाहरु न्युनीकरणमा राज्यका निकायहरुले भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।
२७औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री लेखी विपदका घटनाहरु कसैले रोकेर रुक्नेबाला त होइन तर त्यसलाई न्युनीकरण पक्कै गर्न सकिने बताए । यसकालागि राज्यका निकायहरु तथा संचारमाध्यमले भूमिका निर्वाह गर्नु आवश्यक रहेको उनको भनाई थियो । यद्यपि राज्यका निकायका साथै संचारमाध्यमहरु समेत त्यस तर्फ गम्भिर नरहेको मन्त्री लेखीले बताए ।
भूकम्प सुरक्षा दिवसको अवसरमा जनकपुरधामस्थित महेन्द्र नारायण निधि संग्रहालयमा आयोजित भूकम्प सुरक्षा प्रदर्शनी अघि गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको थियो । मधेस भवनबाट निस्किएको प्रभातफेरी नगर परिक्रमा गर्दै महेन्द्रनारायण निधि संग्रहालयसम्म पुगेको थियो ।
वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।