एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ :
जनकपुरधाममा शनिवारदेखि दुई दिवसिय रामायण अन्तराष्ट्रिय कन्क्लेव आयोजना हुन लागेको छ ।
रामायण सर्किट अन्तर्गत भारतको उत्तरप्रदेश सरकारद्वारा पुस ६ र ७ गते जानकी मन्दिर परिसरमा नेपाल भारतका सन्त विज्ञहरुबीच रामायण विषयवस्तुमा सम्मेलन गरिने भएको छ ।
कार्यक्रम बारे जानकारी दिदैं जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले उत्तर प्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा कन्क्लेव हुन लागेको हो ।
शनिवार दिउंसो ३ बजेदेखि आयोजना हुने उक्त कन्क्लेवको पहिलो सत्रमा हुने रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका स्वामी डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको सहभागिता रहनेछ ।
दोश्रो दिनको सत्रमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम हुनेछ ।मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भारत यूपीका मुख्यमन्त्री आदित्यनाथ योगी र पर्यटन मन्त्री आउने कार्यक्रम नरहेको जानकारी दिदैं उत्तराधिकारी महन्थ रोशन दास वैष्णवले भने कसैले निराधार हल्ला फैलाएको मात्र हो । मुख्यमन्त्री योगी नआएपनि पर्यटन मन्त्रालयका संस्कृति विभागका निर्देशक आशोष द्ववेदी जनकपुर आउने कार्यक्रम रहेको छ ।