एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १४ :
यमपञ्चकको दोश्रो दिन विभिन्न कार्यक्रम गरी जनकपुरधाममा हनुमान जयन्ती मनाइएको छ ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित आफ्नो भवनमा हनुमान चालिसा पाठ, भजन किर्तन, सांस्कृतिक कार्यक्रम र साधुसन्तहरुलाई भण्डारा लगायतको कार्यक्रमहरु गरेको छ ।
यसअघि परिषदले रेल्वे स्टेशनबाट हनुमान मन्दिरबाट शोभा यात्रा समेत निकालेका थिए । सो शोभा यात्रा जानकी मन्दिर, संकटमोचन लगायतका विभिन्न मठ मन्दिर हुँदै नगर परिक्रमा गरेको थियो ।
परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउंदै आएको बताए । विगत १४ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।
जनकपुरधामसहित मिथिलाञ्चलको प्रत्येक घर घरमा हनुमान जयन्ती दिपावलीको पूर्व सन्ध्यामा मनाइएको हो । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, माता लक्ष्मीको कृपा बन्ने शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचबाट मुक्ति मिल्ने गरेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह समेत हट्ने उनले बताए ।
