एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ :
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएलगत्तै सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् ।
जउवा संघको अध्यक्षमा निर्वाचन भए लगत्तै काठमाडौँ पुगेका भण्डारी पूर्व मन्त्री जुलीकुमारी महतो संगै प्रधानमन्त्री ओलीलाई भेट गर्न पुगेका हुन् । एमालेको जनकपुरधाम नगरका अध्यक्ष समेत रहेका भण्डारी जउवा संघको अध्यक्षमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उनलाई माला लगाएर सम्मान समेत गरेका हुन् ।
प्रधानमन्त्रीसंगको भेटमा भण्डारीले जनकपुरधामका व्यापारी मतदातासंग गरेको प्रतिबद्धता पूरा गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । भण्डारीले चुनावी प्रचार प्रसारको क्रममा ११ बुँदे प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिबद्धता पत्रमा जनकपुरधामको सटर भाडा लगायतका भाडा दरमा वैज्ञानिक तवरले निकास खोज्ने, व्यापारीहरुको गुनासो सुन्न हेल्प डेस्कको स्थापना, राजश्व दाखिला, कर भुक्तानीलाई सहज बनाइने, भन्सार नाकालाई चुस्त दुरुस्त बनाउन पहल गरिने, लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै फलफुल मण्डी तथा तरकारी बजारको उचित व्यवस्थापन मिलाउन समेत जउवा संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रधानमन्त्री ओली समक्ष माग गरेका हुन् ।