एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघियताको घोर बिरोधी रहेको आरोप लगाएका छन् । सत्ता टिकाउनकै लागि संघियता नचाह्नेहरु संग गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डले आफ्नो संघियता बिरोधी अनुहार देखाएको स्पट गरे ।
मधेश सरकार अल्पमतमा रहेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न ध्यानाकर्षण गराउन पुगेका एमाले, जनमत, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग उनले प्रचण्ड र ओली संघीयताविरोधी नेता रहेको टिप्पणी गरे ।
‘पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँले भन्नु नै हुन्थ्यो मुलुकमा संघीयता चाहिएको छैन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला थिए, तर अहिले संघीयताको घोर विरोधी हो । प्रचण्डले संघीयता चाहेकै छैनन्’, उनले भने । संघियता चाहेको भए प्रधानमन्त्री प्रचण्डले संघियता बिरोधी एमाले अध्यक्ष ओली र रास्वपाका अध्यक्ष रवि लामिछानेसंग गठबन्धन बनाएर संघियता टिकाउने थिएनन् मुख्यमन्त्री यादवको भनाई थियो ।
अहिलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशमा चुनाव नै नलडेका कारण ऊ पनि संघीयताविरोधी भएको मुख्यमन्त्री यादवको तर्क थियो ।
मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेश प्रदेशमा पटक पटक दलहरुले विश्वासको मत फिर्ता लिने गरेको र संघीय सरकारले कर्मचारीको सरुवा गर्ने गरेको आरोप लगाए । उनले मधेसमा कुनै पनि काम नगर्न संघ सरकारबाटै दवाब आउने आरोप समेत लगाए । मधेस र मधेस सरकारलाई असफल बनाएर संघियता बिरुद्ध कुप्रचार गर्ने षडयन्त्र भईरहेको बुझ्न सबैलाई आग्रह समेत गरे ।