जनकपुरधाम, फागुन १९ :
जनकपुरधाममा पर्यटक आवागमन बढाउने उद्देश्यले नेपालका होटेल व्यवसायीहरु अयोध्या जान लागेका छन् ।
होटेल व्यवसायी संघका केन्द्रिय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दा बढी नेपाली होटेल व्यवसायीहरु भारतीय पर्यटकहरुलाई बढीभन्दा बढी नेपाल भित्राउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गर्न लागेका हुन् ।
अयोध्यामा राम मन्दिरको निर्माण भएपश्चात त्यहाँ पर्यटकहरुको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटक आवागमनमा बृद्धि गराउने उद्देश्यले अयोध्या जान लागेको केन्द्रिय अध्यक्ष शाहले बताए ।
दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै हाम्रो अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी संघ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताए ।
अयोध्या भ्रमणको क्रममा होटेल व्यवसायीहरुले अयोध्यास्थित राम मन्दिरमा पूजा अराधना गर्नुका साथै कोशेली समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै त्यहाँका टुर्स एण्ड ट्राभल्स एजेन्टहरुसंग समेत छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीहरुको भनाई छ ।
अयोध्या प्रस्थान गर्नु अघि शनिबार बेलुका होटेल व्यवसायीहरुले जानकी मन्दिरमा पूजा अराधना समेत गरेका छन् । पूजामा मधेसका पर्यटन मन्त्री सुनिता यादवको समेत उपस्थिति रहेको थियो ।