एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
सुनचाँदी कालिगढ संघ जनकपुरधामको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच सुनचाँदी कालिगढ संघका नवनिर्वाीचत पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत विनोद ठाकुरले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष नागेन्द्र ठाकुरले कालिगढ र सुनचाँदी व्यवसायीहरु बिचको सम्बन्धलाई आफूले प्रगाढ बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीहरुसंग सम्बन्ध प्रगाढ बनाई कालिगढहरुको हकहितका लागि आवाज उठाउने बताए ।
गत महिना मात्रै नागेन्द्र सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा मनोजकुमार ठाकुर, महासचिवमा वीरेन्द्रकुमार साह, कोषध्यक्षमा प्रमेश्वर साह निर्वाीचत भएका थिए ।
सचिवमा अभिशेक ठाकुर निर्विरोध भएका थिए । त्यस्तै सदस्यहरुमा अजयकुमार ठाकुर, महेन्द्र ठाकुर, सुरतराम साह, गोविन्दकुमार ठाकुर, विकास कुमार श्रीवास्तव र सुधिरकुमार साह निर्विरोध भएका थिए ।
राम मन्दिरको महन्थ राम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको शपथ ग्रहण समारोहमा सुनचाँदी व्यवसायी संघ जनकपुरका अध्यक्ष पवनकुमार ठाकुर, संरचना नेपालका अध्यक्ष अमरचन्द्र अनिल लगायतको उपस्थिति रहेको थियो ।





