एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ गते :
जनकपुरधामको रंगभूमी मैदानमा सम्पन्न इन्टर स्कुल अन्डर १६ क्रिकेट च्याम्पियनशिपको उपाधी गोगल प्रसाद स्कुलले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा गोगलप्रसादले जनकपुर पब्लिक स्कुललाई ६ विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।
१०७ रनको लक्ष्य पाएको गोगलप्रसादले ११ ओभरमा ४ विकेटको नोक्सानमा १०७ रन बनाउँदै उपाधी जितेको छ ।
गोगलप्रसादको तर्फबाट विमलेश सहनीले १० बलमा अविजित २३ रनको पारी खेले भने सुरज साहले १६ बलमा २३ रन बनाए । जनकपुर पब्लिक स्कुलको तर्फबाट इंग्लेस यादव र लक्ष्मी ठाकुरले समान २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिंग गरेको जनकपुर पब्लिक स्कुलका इंग्लेस यादवले १९ बलमा १९ र विकास मण्डलले १६ बलमा १६ रनको बनाएका थिए ।
बलिंगमा गोगलप्रसादको तर्फबाट सुरज साहले १ ओभरमा ७ रन दिएर २ विकेट र सर्वजित चौधरीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए । कुल १२ टिम सहभागी रहेको यस प्रतियोगितामा ११ वटा निजि विद्यालय र एउटा सरकारी विद्यालयले भाग लिएको थियो । गोगलका सुरज साहलाई म्यान अफ द म्याचको उपाधी दिइएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट ब्याटिङ्ग गरेका मुकेश यादवलाई बेस्ट ब्याट्सम्यानको उपाधी दिइएको छ । उनले १३१ रन बनाएका हुन् ।
यस्तै, ११ विकेट लिएका इंग्लेस यादवलाई वेस्ट वलर, सोहेल राइनलाई म्यान अफ द सिरिज, बेस्ट फिल्डर इंग्लेस यादव र इमर्जिङ्ग प्लयेयरको उपाधी आदर्श झालाई दिइएको हरि स्पोर्ट जोनका प्रमुख हरिशंकर साहले जानकारी दिएका हुन् ।