एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले शहीदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसद्हरूलाई अनुरोध गर्नुभएको छ । शनिबार भएको मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेशी शहीदहरूको सपनालाई मनन गरी अगाडि बढ्न सांसद्हरूसँग आग्रह गर्नुभएको हो ।
उहाँले ज्यानको आहूति दिने शहीदहरूको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिन समेत आग्रह गर्नुभयो । प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताउनुभयो । कम श्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उहाँको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले प्रदेशसभालाई जीवन उपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहेनत गर्न पनि सांसद्हरूसँग अनुरोध गर्नुभयो ।
सभामुख मण्डलले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसदहरू अनुपस्थित भएकोमा दु:खसमेत व्यक्त गर्नुभएको थियो । सभामुख मण्डलले संघीयता खर्चियो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाउनुभयो । संघीयता खर्चिलो भएको कुरा सतही मात्र भएको पनि उहाँको भनाइ छ । संघियताको विकल्प बारे सोच्न नसकिने भन्दै उनले कडा परिश्रम गरेर संघियता सार्थक गर्नुपर्ने बताएका छन् ।
समारोहममा वार्षिकोत्सवका अवसरमा भएका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी सांसद् तथा कर्मचारीहलाई सम्मान गरिएको थियो । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सोही अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । मधेश प्रदेशसभामा कुल एक सय ७ सांसद छन् । तर, वार्षिकोत्सवमा अधिकांश सांसद् अनुपस्थित थिए ।