एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : जनकपुरधाममा ट्रिपरले मोटरसाइकललाई किच्दा एकजनाको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । आइतबार दिउँसो जनकपुरबाट ढल्केबर तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल पिडारी चोकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुने भारत विहार निवासी ४० वर्षीय आनन्द किशोर दास रहेको प्रहरीले जनाएको छ । उनी राजमिस्त्री रहेको बताइएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानियले ट्रिपरलाई जलाइदिएका छन् ।
बारुणयन्त्र आउँदा सम्म ट्रिपरको धेरै भाग जलिसकेको थियो । घटनाको धनुषाका एसपी प्रकाश रानाभाटले पनि पुष्टी गरेका छन् । उनका अनुसार दुर्घटनामा घाइते भएका दासको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुग्दा उनको मृत्यु भइसकेको थियो ।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिएको टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरको पाङ्ग्रा, सिसा र क्याबिनको भाग जलेर नष्ट भएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।
जनकपुरधामको बेला देखि मुजेलिया सम्म सडक निर्माण कार्यभइरहेको भएपनि ट्रिपरचालकहरु मनपरी सवारी चलाउने गरेका छन् । भिडभाड र ट्राफिक अव्यवस्थाका बिच पनि ट्रिपरहरु दादागिरीशैलीमा ट्रिपर चलाउने गरेकाले सवारी दुर्घटना बढदै गएको छ ।