एसपी रिपोर्टर
जनकपुरधाम, असार ४ :
मधेश प्रदेशमा सडक सञ्जाल विस्तारसँगै सवारी दुर्घटनाको समस्या गम्भीर बन्दै गएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म प्रदेशमा २९ हजार १८३ सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन्।
एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्रतिवेदनअनुसार उक्त अवधिमा ३६ हजार १४२ जना घाइते भएका छन् भने १० हजार ८६६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाबाट भएको मानवीय तथा आर्थिक क्षतिले प्रदेशको समग्र विकासमा समेत नकारात्मक असर पारिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यही विषयलाई केन्द्रमा राखेर जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सडक सुरक्षा कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सडक दुर्घटना न्यूनीकरण प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। उनले सडक पूर्वाधार सुधार, यातायात व्यवस्थापनको आधुनिकीकरण तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
मुख्यमन्त्री यादवले सडक दुर्घटना केवल तथ्यांकको विषय नभई हजारौं परिवारको पीडा र सामाजिक–आर्थिक क्षतिसँग जोडिएको विषय भएको बताउँदै दुर्घटना न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा व्यावहारिक कदम अघि बढाइने बताए।

प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मधेशमा सडक दुर्घटनाको संख्या क्रमिक रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी दुर्घटना भएको उल्लेख गरिएको छ। कुल दुर्घटनामध्ये करिब ४८ प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्।
दुर्घटनाको समयगत विश्लेषण गर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ। सवारी चाप र चालकको व्यस्तता बढी हुने समय भएकाले जोखिम पनि उच्च रहने विज्ञहरूको भनाइ छ।
तथ्यांकअनुसार दुर्घटनाबाट प्रभावितमध्ये ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेका छन्। बालबालिका र ज्येष्ठ नागरिक पनि उच्च जोखिममा रहेको प्रतिवेदनले देखाएको छ। महिलाको सार्वजनिक गतिविधिमा बढ्दो सहभागितासँगै उनीहरू प्रभावित हुने दर पनि वृद्धि भएको उल्लेख गरिएको छ।
जिल्लागत रूपमा धनुषा, महोत्तरी, बारा, पर्सा र सर्लाहीमा दुर्घटनाको दर अपेक्षाकृत उच्च रहेको छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग तथा अन्य प्रमुख सडक खण्ड बढी जोखिमयुक्त देखिएका छन्।
एडीबीको प्रतिवेदनअनुसार कुल दुर्घटनामध्ये ४९ प्रतिशत दुर्घटना चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने गरेका छन्। यसबाहेक सडकको कमजोर अवस्था, सवारी साधनको प्राविधिक समस्या, पैदलयात्रीको असावधानी तथा प्रतिकूल मौसम पनि दुर्घटनाका प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।
कार्यशालामा सहभागी विज्ञ तथा सरोकारवालाले दुर्घटना न्यूनीकरणका लागि बहुआयामिक प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूले दुर्घटना बढी हुने ‘ब्ल्याक स्पट’ क्षेत्रको पहिचान गरी सुधार गर्नुपर्ने, सडक डिभाइडर, साइनबोर्ड र सडक बत्तीको व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, ओभरस्पिडिङ र ड्रंक ड्राइभिङविरुद्ध कडा कारबाही, विद्यालय तथा समुदायस्तरमा सडक सुरक्षा शिक्षा विस्तार तथा हेल्मेट प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा सीसीटीभी, स्पिड क्यामेरा तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित निगरानी प्रणालीको प्रयोग विस्तार गर्नुपर्ने तथा दुर्घटनापछि तत्काल उद्धारका लागि द्रुत एम्बुलेन्स सेवा र ट्रमा सेन्टर सुदृढ गर्नुपर्ने विषयमा पनि जोड दिइयो।
राष्ट्रिय सडक सुरक्षा परिषद्का फोकल पर्सन शंकर सिंह धामीले मधेशमा सवारी साधन र जनसंख्याको चाप अत्यधिक भएकाले दुर्घटनाको संख्या बढ्दै गएको बताए। परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधानका अनुसार गोष्ठीमा सडक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन, दुर्घटनाका प्रमुख कारण तथा न्यूनीकरणका रणनीतिबारे छलफल गरिएको थियो।
कार्यशालाले सडक दुर्घटना प्राकृतिक प्रकोप नभई मानवीय व्यवहार, व्यवस्थापन र पूर्वाधारसँग प्रत्यक्ष रूपमा जोडिएको समस्या भएकाले यसको न्यूनीकरणका लागि तत्काल प्रभावकारी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विकास साझेदार संस्था तथा नागरिक समाजबीच समन्वय र सहकार्य अपरिहार्य रहेको सहभागीहरूले बताएका छन्।