एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ :
मधेश प्रदेशभित्र सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनका फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ।
काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई सम्बन्धित फाइल हस्तान्तरण गरेका हुन्।
फाइल बुझेपछि अध्यक्ष खड्गाले एफएम रेडियो तथा टेलिभिजन सञ्चालकका लागि यो खुसीको विषय भएको बताए। उनले नवीकरणलगायतका सामान्य कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य भएको बताए।
उनका अनुसार अब एफएम रेडियोको दर्ता तथा नवीकरणलगायतका काम आमसञ्चार प्राधिकरणको जनकपुरधामस्थित कार्यालयबाटै हुने भएको छ।
नेपालको संविधान तथा मधेश प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था गरे पनि विगत सात वर्षदेखि सम्बन्धित फाइल केन्द्रमै रहेकाले प्रदेशबाट सेवा प्रवाह हुन सकेको थिएन। यसका कारण सञ्चार संस्था सञ्चालकहरूलाई समस्या हुनुका साथै मधेश प्रदेश सरकारले पनि ठूलो राजस्व गुमाउँदै आएको अध्यक्ष खड्गाले बताए।
‘जिम्मेवारी सम्हालेकै दिनदेखि यी फाइल प्रदेशमा ल्याउन निरन्तर प्रयास गरिरहेको थिएँ,’ उनले भने, ‘केही कानुनी जटिलता समाधान गर्न मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र तत्कालीन गृह सचिव गणेश नायकको महत्वपूर्ण सहयोग रह्यो। उहाँहरूको सहयोगमा रेडियो तथा टेलिभिजनका फाइल प्राधिकरणमा ल्याउन सफल भएका छौँ।’
अध्यक्ष खड्गाले फाइल प्रदेशमा ल्याइनु सामान्यजस्तो देखिए पनि मधेश सरकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसबाट संविधानप्रदत्त अधिकार कार्यान्वयनसँगै रेडियो तथा टेलिभिजन सञ्चालकलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन सहज हुने उनको भनाइ छ।
फाइल प्रदेशमा आएपछि दर्ता तथा नवीकरणबाट प्राप्त हुने राजस्व पनि मधेश प्रदेशमै संकलन हुने भएकाले आमसञ्चार प्राधिकरण प्रदेश सरकारका लागि महत्वपूर्ण राजस्व संकलन गर्ने निकायका रूपमा स्थापित हुने उनले बताए।