एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १ :
आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए । घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

माँ शैलपुत्रीको पुजा आराधना गरिदै

आज नवरात्रको पहिलो दिन हिन्दु धर्मावलम्वीहरु माँ शैलपुत्रीको पुजा आराधना गरिरहेका छन् । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको र टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः१९ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

जनकपुरधाममा चहलपहल

नवरात्रा सुुरु भएसंगै जनकपुरधाम सहित देश र देश वाहिरका शक्तिपिठ तथा माता दुर्गाभवानीको पण्डालमा श्रद्धालुहरुको भिडभाड लागेको छ । जनकपुरधामको श्री राजदेवी, श्री बौधीदेवी, श्री अन्नपुर्णा अमरखाना माता मन्दिरहरु सहित सम्पुर्ण शक्तिपिठ सहित माता दुर्गाभवानीको प्रतिमा सहित निर्माण गरिएको पण्डालहरुमा भक्तजनको चहल पहल बढेको छ । पुजापाठ, आरती तथा साँझ दिन पनि आज देखि ति धार्मिक स्थलहरुमा भक्तजनहरुको भिडभाड बढदै जाने छ ।

कोभिड १९ कोरोना महामारीवाट समाज, देश र अन्तराष्ट्रिय जगत तै त्रसित रहेका वेला आगमन भएको वडा दशैंमा श्रद्धालुको श्रद्धा र भक्तिमा भने कुनै कसर देखिदैन । कतिपयले घर घरमै पुजापाठ गरिरहेका छन भने कतिपय सार्वजानिक मन्दिरहरुमै पुगेर पनि पुजापाठ भक्ति प्रार्थना गरि माँ नवदुर्गा भवानी माता शक्तिले यस विषम परिस्थितीमा सम्पुर्ण विश्व समुदयायको रक्षा र कल्यान गर्नुहोस भन्ने मंगलमय कामना गरिरहेका छन् । एसपी खवरको तर्फवाट पनि सम्पुर्ण, पाठक, दर्शक, विज्ञापदाता तथा शुभेच्छुकहरुमा महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।