एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
प्रत्येक वर्ष सञ्चालन हुँदै आएको श्रीगजेन्द्रमोक्ष–नारायण मुक्तिनाथ रथयात्रा यस वर्ष कोजाग्रत पूर्णिमाबाट मेचीदेखि महाकालीसम्म सञ्चालन हुने भएको छ।
२०८१ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको रथयात्रा श्रीमुक्तिनाथमा आयोजना हुने षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएपछि कोजाग्रत पूर्णिमाबाट पुनः सुरु हुने आयोजकले जनाएको छ। रथयात्रा देशका विभिन्न शहर तथा क्षेत्रमा हुँदै हरिबोधिनी एकादशीका दिन सम्पन्न हुनेछ।
रथयात्रामा सहभागी हुन आमन्त्रण गर्ने क्रममा जनकपुरधाम आएका रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले धार्मिक तथा सांस्कृतिक जागरणसँगै मुक्तिनाथ, शालग्राम, कालीगण्डकीलगायत नेपालका पवित्र तीर्थस्थलको महिमा देश–विदेशमा पुर्याउनु रथयात्राको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार रथयात्राले वैदिक सनातन धर्म तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नेछ। उनले रथयात्रामा सहभागी हुन देशभरका सनातन धर्मावलम्बी तथा श्रद्धालुलाई आग्रह गरे।
आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सव भने २०५४ सालदेखि सञ्चालन हुँदै आएको छ। मुक्तिनाथ भगवान्, शालग्राम, कालीगण्डकीलगायत मुक्तिक्षेत्रअन्तर्गतका तीर्थस्थलको महिमा देश तथा विदेशमा प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको थियो।
रथयात्रा तथा महायज्ञमार्फत वैदिक सनातन धर्म, संस्कृति र सभ्यताको संरक्षण तथा संवद्र्धन गर्नुका साथै धर्म, नीति, सदाचार र मानवताप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
त्यस्तै धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसारमार्फत पर्यटन प्रवद्र्धन, सामाजिक सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता तथा विश्वशान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसमेत रहेको आयोजकले जनाएको छ।

