एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३०:

हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व गणेश चतुर्थी मंगलबार श्रद्धा तथा भक्तिपूर्वक भगवान गणेशको पूजा–आराधना गरी मनाइँदैछ। जनकपुरधाममा समेत गणेश पूजालाई लिएर विशेष उत्सवको माहौल देखिएको छ।
पुराणहरूका अनुसार भाद्र महिनाको चतुर्थी तिथिका दिन भगवान गणेशको जन्म भएको मानिन्छ। शिवपुराणमा यही तिथिलाई मंगलमूर्ति गणेशको अवतरण तिथिका रूपमा उल्लेख गरिएको छ। गणेशपुराणका अनुसार भने भाद्र शुक्ल पक्षको चतुर्थी तिथिमा गणेशावतार भएको मान्यता छ।

गणेश युवा कमिटी जनकपुरधामको आयोजनामा स्थानीय रामचोकस्थित गणेश मन्दिरमा गणेश जन्मोत्सव मनाइँदैछ। धनुषसागरको पश्चिमी तटमा रहेको गणेश मन्दिरमा मंगलबार चतुर्थी तिथिका अवसरमा विधिपूर्वक पूजा–आराधना प्रारम्भ गरिएको हो।
गणेश जन्मोत्सवको अवसरमा मन्दिर परिसरमा भजन–कीर्तनलगायतका धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको छ। बिहानैदेखि भक्तजनहरू मन्दिरमा पुगेर भगवान गणेशको दर्शन तथा पूजा–आराधना गरिरहेका छन्।