एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११:
सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
सोमबार रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकारले घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाए। उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन, घाइतेहरूको प्रभावकारी उपचार तथा दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गर्नुका साथै उनीहरूको तस्वीरसमेत जलाएका थिए।

प्रदर्शनकारीहरूले समुदायबीचको संवेदनशील विषयलाई समयमै सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाउँदै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
उल्लेखनीय छ, आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। उक्त घटनाको विरोधमा जनकपुरधामसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।





