एसपी रिपोर्टर
जनकपुरधाम, साउन १:
जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थामा निर्माण सम्पन्न डिहवार स्थानको नयाँ मन्दिर उद्घाटन गरिएको छ। असारी पूजाको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले मन्दिरको उद्घाटन गरेका हुन्।
कुर्थास्थित पुरानो डिहवार स्थानको मन्दिर जीर्ण अवस्थामा पुगेपछि वडा नं. २१ को २० लाख रुपैयाँको बजेटमा नयाँ मन्दिर निर्माण गरिएको हो।

मिथिला क्षेत्रमा प्रत्येक गाउँका प्रथम बासिन्दाको स्मृतिमा डिहवार स्थान स्थापना गरी पूजा गर्ने परम्परा रहिआएको छ। सोही सांस्कृतिक तथा धार्मिक परम्पराको संरक्षण, संवर्द्धन र व्यवस्थित व्यवस्थापन गर्ने उद्देश्यले नयाँ मन्दिर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष राजनारायण साहका अनुसार शुक्रबार परम्पराअनुसार डिहवार स्थानमा असारी पूजा पनि श्रद्धापूर्वक सम्पन्न गरिएको थियो।
मन्दिर उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।