एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० :
जनकपुरधामस्थित तिरहुतिया गाछीमा ४ दिवसीय योग विज्ञान शिविर आयोजना हुने भएको छ। शिविर जेठ ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार शिविरमा योगगुरु स्वामी रामदेव का शिष्या साध्वी देवादितीको सहभागिता रहनेछ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले सनातन धर्ममा योगको विशेष महत्व रहेको बताउँदै योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मशुद्धि, मानसिक शान्ति तथा आध्यात्मिक उन्नतिको माध्यम भएको उल्लेख गरे।
पतञ्जली योग पीठ मधेशका उपाध्यक्ष मनोहर साहले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई अनुशासित बनाउने बताए। रोगअनुसार योग अभ्यास गर्नाले शारीरिक लाभका साथै विभिन्न रोग निको हुने सम्भावना समेत बढ्ने उनको भनाइ थियो।
आयोजकका अनुसार शिविरमा प्राणायाम, ध्यान, विभिन्न योग अभ्यास तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। शिविरमा सयौँ सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
योग शिविरले जनकपुरधामसहित मधेश प्रदेशका नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ।