एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ :
जिल्ला प्रशासन कार्यालय धनुषाले रामनवमीको अवसरमा आयोजना गरिने शोभायात्रा, र्याली तथा सार्वजनिक प्रदर्शन नगर्न निर्देशन दिएपछि धार्मिक तथा सामाजिक संघसंस्थाहरूले आपत्ति जनाएका छन् ।
प्रशासनद्वारा जारी पत्रअनुसार जिल्ला सुरक्षा समितिको बैठकले वर्तमान परस्थितिलाई मध्यनजर गर्दै कुनै पनि संघसंस्था वा निकायलाई सभा, जुलुस, र्याली तथा प्रदर्शन गर्न अनुमति दिन उपयुक्त नहुने निष्कर्ष निकालेको हो । सोही निर्णयका आधारमा चैत १३ गते पर्ने रामनवमीका दिन यस्ता कार्यक्रम नगर्न÷नगराउन निर्देशन दिइएको जनाइएको छ ।
यता, राष्ट्रिय एकता दल धनुषाले प्रशासनको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अस्वीकार गर्ने घोषणा गरेको छ । दलका प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै निर्णयलाई असंवैधानिक र पक्षपातपूर्ण भनिएको छ ।
विज्ञप्तिमा रामनवमीको शोभायात्रा तथा धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिने उल्लेख गर्दै प्रशासनको निर्णयले धार्मिक अधिकार खोस्न नसक्ने चेतावनी दिइएको छ । साथै, कार्यक्रम सञ्चालनमा अवरोध भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने बताइएको छ ।
यसअघि राष्ट्रिय एकता दलले जनकपुरधाम–२३ बिन्धीबाट सुरु हुने शोभायात्रा नगर परिक्रमा गर्दै जानकी मन्दिर परिसरमा समापन गर्ने योजना बनाएको थियो र सोका लागि प्रशासनसँग सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।
त्यस्तै, हिन्दू सम्राट नेपाल धनुषा जिल्ला कार्य समितिले पनि लक्ष्मीनिया क्षेत्रबाट सुरु हुने छुट्टै शोभायात्राका लागि अनुमति तथा सुरक्षा व्यवस्थापन माग गर्दै निवेदन दिएको जनाएको छ । उक्त शोभायात्रा विभिन्न स्थान हुँदै जानकी मन्दिरसम्म पुग्ने रुट तय गरिएको छ ।





