एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : भगवान कृष्णको जन्मोत्सवको अवसरमा जनकपुरधाम १९स्थित बेंगामा भव्य कृष्णाष्टमी मेलाको आयोजना गरिएको छ । बेंगाका स्थानीयको अगुवाई बिगत २४ वर्षदेखि निरन्तर कृष्णाष्टमी मेलाको आयोजना हुँदै आईरहेको हो ।
भब्य पण्डालको निर्माण गरि भगवान राधाकृष्ण सहित देवीदेवताको मुर्ती स्थापना गरि मेलाको आयोजना गरिएको कृष्ण जन्माष्टमी पूजा समिति बेंगाका विक्रम यादवले जानकारी दिए ।

पूजाको अवसरमा श्रद्धालु भक्तजनहरुले भगवान कृष्णको रथयात्रा एवं कलश तथा शोभा यात्रा निकालिएको थियो । हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागितामा रथयात्रा सम्पन्न भएपछि औपचारिक रुपमा भगवान कृष्णको जन्माष्टमीको पर्वको आरम्भ भएको छ । यसका साथै बेंगामा कृष्ण जन्मोत्वसको अवसर पारेर सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

भाद्र कृष्ण अष्टमी तिथिको मध्यरातमा ज्ञानयोग, हठयोग तथा कर्मयोगका प्रणेता भगवान कृष्णको माता देवकीको कोखबाट जन्म भएको थियो । द्वापरयुगमा भगवान कृष्णको जन्म भएको स्मरणमा प्रत्येक वर्ष हिन्दु धर्माबलम्बीहरु यस तिथिमा कृष्ण जन्माष्टमी पर्व मनाउने गर्छन ।