एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
धार्मिक आस्था, ऐतिहासिक पहिचान र सांस्कृतिक गौरवको प्रतीकका रूपमा चिनिने कपिलेश्वरनाथ मन्दिर यस वर्षको साउन मेलाकालागि तयारी पूरा भएको छ । त्रेता युगीन परम्परा बोकेको यस पवित्र स्थलमा प्रत्येक वर्ष साउनको सोमबार लाखौँ श्रद्धालुहरू पुग्ने गर्छन्, जसले यहाँको आध्यात्मिक ऊर्जा र शिवभक्तिको अद्भुत दृश्य प्रस्तुत गर्छ ।
यस वर्षको मेला असार ३० गते सोमबारदेखि सुरु हुँदैछ । कपिलेश्वरनाथ युवा समितिले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो कि यस पटकको मेला अघिल्ला वर्षहरूको तुलनामा अझ भव्य, व्यवस्थित र विशेष हुने छ ।

समितिका अध्यक्ष मनोज साहका अनुसार — “कपिलेश्वरनाथ बाबा साक्षात् भोलेनाथ हुन् । यहाँ जो भक्तजन सच्चा श्रद्धा र आस्थासाथ मन्नत माग्छन्, तिनको मनोकामना पूर्ण हुन्छ । यही विश्वासले कपिलेश्वरनाथको ख्याति दिनप्रतिदिन बढ्दै गएको छ ।”
जनकपुरधाम उपमहानगरपालिका–१६ मा अवस्थित कपिलेश्वरनाथ मन्दिर जानकी मन्दिरबाट झन्डै १ किलोमिटरको दूरीमा रहेको छ । जानकी मन्दिर आउने श्रद्धालुहरू यहाँ दर्शन नगरी नफर्कने विश्वास रहँदै आएको वडाध्यक्ष रामचन्द्र पजियारले बताए ।

उनले त्रेतायुगको इतिहास बोकेको यो मन्दिर ओझेलमा पर्दैजानु दुःखको विषय रहेको बताउँदै यसको प्रचार प्रसारमा लाग्नु सबै पक्षको कर्तव्य रहेको बताए । उनले मन्दिरको प्रचार प्रसारमा प्रदेश सरकार तथा संघ सरकारले समेत उदासिनता देखाउँदै आईरहेको गुनासो गरे ।





