एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
जनकपुरधामस्थित श्री राम जानकी सुड़ी कुट्टीको आयोजनामा ‘श्री राम चरित मानस नवाह परायण महायज्ञ महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ ।
चैते दशैँ तथा रामनवमीको अवसर पारेर चैत ५ गतेदेखि सुरु भएको नवाह परायण चैत १३ गतेसम्म विधिपूर्वक सम्पन्न गरिएको थियो । महायज्ञ अवधिभर धार्मिक विधि, रामचरितमानस पाठ तथा पूजा–अर्चना निरन्तर रूपमा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

सोही अवसरमा रामनवमी महोत्सव पनि भव्य रूपमा मनाइएको थियो, जसमा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।
महोत्सव अन्तर्गत चैत १४ गते अष्टयाम तथा चैत १५ गते साँझ महाप्रसाद वितरण कार्यक्रम आयोजना गरी समापन गरिएको हो । महाप्रसाद वितरणका क्रममा १ सय ५१ जना साधुसन्तहरूलाई भोजन गराई वस्त्र तथा दक्षिणा सहित सम्मानपूर्वक विदाई गरिएको श्री राम जानकी सुड़ी कुट्टीका अध्यक्ष रामबालक महतोले जानकारी दिए ।
आयोजक समितिले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, सहयोगी तथा सहभागीप्रति आभार व्यक्त गरेको छ ।