एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७:
सुरेशकुमार यादवद्वारा लिखित ‘स्टार वडाध्यक्ष : समर्पण, सेवा र नेतृत्वको ५१ सूत्र’ पुस्तक जनकपुरधाममा विमोचन गरिएको छ।
मधेश प्रदेशसभाका सभामुख राम आशिष यादवले पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ५१ वटा वडाका वडाध्यक्षको कार्यसम्पादन, संघर्ष तथा व्यक्तिगत जीवनका विभिन्न पक्ष समेटिएको छ।
पुस्तक विमोचन गर्दै सभामुख यादवले समाज र समुदायको विकासका लागि नेतृत्वमा सेवाभाव, इमानदारी र उत्तरदायित्व आवश्यक रहेको बताए। जनप्रतिनिधिले जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।
पद र जिम्मेवारी स्थायी नहुने उल्लेख गर्दै सभामुख यादवले व्यक्तिको वास्तविक पहिचान उसको कर्म र योगदानबाट स्थापित हुने बताए। उनले जनप्रतिनिधि तथा नेतृत्वमा रहेका व्यक्तिहरूलाई आफ्नो काममार्फत समाजमा सकारात्मक प्रभाव छाड्न आग्रह गरे।
पुस्तक विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।





