एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ :
मधेसको राजधानी जनकपुरधाममा साधु–सन्तहरूले नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा पुनःस्थापना गर्न माग गरेका छन् । सनातन हिन्दु समाज नेपालको ब्यानरअन्तर्गत आयोजित कार्यक्रममा साधु–सन्तहरूले मुलुकमा अमन–चयन कायम राख्न र राष्ट्रिय पहिचान संरक्षणका लागि सनातन हिन्दु राष्ट्र अनिवार्य भएको बताएका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले नेपाल सनातन हिन्दु राष्ट्रको पहिचानमै टेकेर बाँचिरहेको उल्लेख गर्दै अहिलेको अन्तरिम सरकार र युवा पुस्ताले लोकतान्त्रिक व्यवस्थाभित्रै रहेर हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा स्थायी शान्ति र अमन–चयनको लागि सनातन हिन्दु राष्ट्र अपरिहार्य छ ।”
महन्थ वैष्णवले विगतमा मुलुकको नेतृत्व गर्नेहरू समयमै सचेत नभएकै कारण आजको जेनजी पुस्ता आन्दोलनमा उत्रनु परेको टिप्पणी गर्नुभयो । उहाँले अझै पनि अवसर बाँकी रहेको भन्दै युवा पुस्तालाई नेपालको पहिचानका रूपमा रहेको हिन्दु राष्ट्र पुनःस्थापनातर्फ सक्रिय हुन आह्वान गर्नुभयो ।





