एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ :
जनकपुरधाममा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयदशमी यस वर्ष पनि भव्यतापूर्वक मनाउने सर्वपक्षीय सहमति भएको छ। श्री महावीर युवा समिति र श्री राम युवा समितिको संयुक्त आयोजनामा शनिबार बसेको बैठकले हरेक वर्षझैं यस वर्ष पनि पर्वलाई भव्य र व्यवस्थित ढंगले मनाउने निर्णय गरेको हो।
बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, तीनै तहका सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, विभिन्न युवा क्लबका अध्यक्षलगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

श्री राम युवा समितिका महासचिव विजय साहका अनुसार मेलाको व्यवस्थापनमा शुद्ध खानेपानी, निरन्तर विद्युत् आपूर्ति, जनस्वास्थ्य र शान्ति–सुरक्षालाई प्राथमिकता दिइएको छ। भक्तजनका लागि बिहान र साँझ पर्याप्त खानेपानी उपलब्ध गराउने, मन्दिर क्षेत्रलाई लोडसेडिङमुक्त गर्ने र अष्टमीका दिन विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई तोकिएको छ।
त्यस्तै, पर्व अवधिभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि सरोकारवाला निकायलाई आग्रह गरिएको बैठकले जनाएको छ।