एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७:
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
जनकपुरधाममा कांग्रेसको १५औँ महाधिवेशनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निधिले सरकारले संसद्लाई महत्व नदिएको चर्चा भइरहेकाले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी हुने र सरकारलाई जनताप्रति जवाफदेही बनाउने प्रमुख माध्यम संसद् रहेको उल्लेख गर्दै उनले जनताप्रति जवाफदेही भएर काम गर्न सरकारलाई आग्रह गरे । उनले बदलाको भावनाबाट सरकार सञ्चालन नगर्नसमेत सुझाव दिए ।
निधिले सर्वोच्च अदालतले गर्न लागेको पुनरावलोकनसम्बन्धी फैसलामा शेरबहादुर देउवाकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । फैसला आफ्नो पक्षमा आए पार्टीलाई पुनः एकीकृत गर्ने प्रयासमा लाग्ने उनले बताए ।
कांग्रेसको १५औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पार्टी एकताका लागि सम्भव सबै उपाय अपनाउने पक्षमा आफूहरू रहेको निधिले स्पष्ट पारे । सहमतिमा महाधिवेशन गर्न सम्भव नभए छुट्टाछुट्टै महाधिवेशनका लागि समेत तयार रहनुपर्ने उनको भनाइ थियो ।
यसैगरी, हिन्दु राष्ट्रको मागलाई आधार बनाएर निरंकुश राजतन्त्र पुनःस्थापना गर्ने प्रयास भइरहेको आरोप पनि निधिले लगाए । कांग्रेसभित्रै बीपी कोइरालाका विचारलाई अपव्याख्या गर्दै राजतन्त्र पुनःस्थापना गर्ने प्रयास भइरहेको भन्दै उनले यस्तो प्रयास स्वीकार्य नहुने बताए ।