एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६:
मोहम्मद डेको अवसरमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। रबिउन नूर कमिटी जनकपुरधामको आयोजनामा ‘रक्तदान गरी गरौँ जीवनदान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरिएको हो।
कार्यक्रममा स्थानीय युवा, विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदान गर्दै मानवीय सेवामा योगदान दिएका थिए।
त्यस्तै, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपणसमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक इजाज अन्सारीले धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, मानवीय सेवा र वातावरण संरक्षणका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
अन्सारीका अनुसार मोहम्मद डेकै अवसरमा आगामी बुधबार जनकपुरधाममा शान्तिपूर्ण र्‍याली समेत निकालिनेछ।
रबिउन नूर कमिटीका अध्यक्ष अजिज राइनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, युवा तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।