एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
अग्रपूजाको अधिकार प्राप्त गरेका भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन हिन्दु धर्माबलम्बीहरु गणेश पूजा मानउने गर्छन् ।
भाद्र शुक्ल चतुर्थीकै दिन भगवान् गणेशको प्रादुर्भाव भएको धर्मग्रन्थहरुमा उल्लेख छ ।

सोहि अवसरमा जनकपुरधामको रामचौक स्थित श्री गणेश युवा कमिटिले गणेश मन्दिरमा विशेष पूजाको आयोजना गरेको छ । गणेश मन्दिरलाई पूजाको अवसरमा सरसजावटले झकिझकाउ बनाइएको छ । जनकपुरधाममा रामचौक, जनकचौक र ज्ञानकुप चौकमा श्री गणेश पुजनोत्सव मनाइन्छ ।
जनकपुरधाममा गणेश युवा कमिटीले गणेश चतुर्थीको अवसरमा तीजकै दिनदेखि ५ दिवसीय विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

भगवान गणेशको पूजा, सन्ध्या आरती, प्रसाद वितरण, साधु भण्डारा, हनुमान अराधना सहितको विभिन्न कार्यक्रमहरु राखिएको गणेश युवा कमिटीका पूर्व अध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताउनुभयो ।
गणेश युवा कमिटीले वि.सं. २०५४ सालदेखि निरन्तर रुपमा जनकपुरधाम गणेश चतुर्थीको अवसरमा गणेश पूजाको आयोजना गर्दै आईरहेको छ ।






