एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५:
मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेज गर्न माग गर्दै साहु–महाजनहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
‘खाएको ऋण तिर्नुपर्छ’ भन्ने नारासहित साहु–महाजन आबद्ध पीडित लेनदेन संघर्ष समिति ले बुधबार धनुषा जिल्ला अदालतअगाडि भेला तथा प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले मिटरब्याज पीडितको दबाबमा सरकारले एकपक्षीय रूपमा गरेको ९ बुँदे सम्झौताले वैधानिक रूपमा भएका लेनदेनसमेत प्रभावित भएको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त सहमतिका कारण कानुनी प्रक्रियाअनुसार ऋण दिएका व्यक्तिहरू पनि अन्यायमा परेको अवस्था सिर्जना भएको छ।
उनीहरूले ऋण लिएपछि फिर्ता नगर्ने प्रवृत्तिलाई सरकारी नीतिले प्रोत्साहन गरेको आरोप लगाउँदै वैधानिक लेनदेनको संरक्षण गर्न सरकारसँग माग गरेका छन्। साथै, अदालतबाट समेत न्याय पाउन कठिनाइ भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
संघर्ष समितिले लेनदेनसम्बन्धी विवाद कानुनी प्रक्रियाबाट समाधान हुनुपर्नेमा जोड दिँदै सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता तत्काल खारेज गर्न माग गरेको छ। वैधानिक रूपमा ऋण दिएका व्यक्तिलाई अपराधीसरह व्यवहार गरिएको भन्दै उनीहरूले सरकारसँग निष्पक्ष नीति अवलम्बन गर्न आग्रह गरेका छन्।





