एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५:
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक विद्यार्थी, एक रुख’ अभियान सुरु गरिएको छ।
विद्यालय तहदेखि नै वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्दै हराभरा, स्वच्छ र वातावरणमैत्री समाज निर्माण गर्ने लक्ष्यसहित प्रतिनिधिसभा सदस्य मनिष झाको सचिवालयले अभियान सञ्चालन गरेको हो।
अभियानअन्तर्गत निर्वाचन क्षेत्रका प्रत्येक विद्यालयका विद्यार्थीमार्फत वृक्षारोपण गरिनेछ। प्रत्येक विद्यार्थीले कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने अवधारणासहित अभियान अघि बढाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जितेन्द्र महासेठले जानकारी दिए।


उनका अनुसार अभियानको पहिलो चरणमा पाँच हजारभन्दा बढी बिरुवा रोपिनेछ। विद्यार्थीलाई वातावरण संरक्षणसँग प्रत्यक्ष जोड्दै वृक्षारोपणलाई सामाजिक अभियानका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।
याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, जनकपुरधामका प्रधानाध्यापक संजय झाले अभियानको प्रशंसा गर्दै यसले विद्यार्थीलाई सामाजिक उत्तरदायित्वबोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरण संरक्षणसँगै सामाजिक सेवाप्रतिको भावना पनि विकास गर्छ।


आयोजकका अनुसार अभियानअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ३ का विद्यालय परिसर तथा सार्वजनिक स्थानमा वृक्षारोपण गरिनेछ। अभियान सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।