एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दूधमति नदीको संरक्षण र विकासलाई प्रदेश सरकारको गौरवपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको काम तीव्र गतिमा अघि बढाइने बताएका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरस्थित दूधमति नदीको उद्गमस्थलमा आयोजित “श्री श्री १०८ श्री दूधमति मुण्डन मेला महोत्सव” मा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले दूधमति नदी लोप हुने अवस्थामा पुगेकाले यसको पुनरुत्थानलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए।
उनका अनुसार, दूधमति नदीको उद्गमस्थलदेखि दहसम्मको २९ किलोमिटर क्षेत्रलाई पहिलो चरणमा विकास गर्न २.५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। हाल नक्सांकनको काम जारी रहेको र अन्य पूर्वाधार निर्माण चाँडै सुरु गरिने उनले जानकारी दिए।
मुख्यमन्त्री सिंहले यस नदीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बहुवर्षीय योजना तयार पारिएको उल्लेख गर्दै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले पनि परियोजनाबारे जानकारी दिँदै नक्सांकनपछि उत्खनन र सौन्दर्यकरणको काम तत्काल अघि बढाइने जानकारी दिए। उनका अनुसार, दूधमति पोखरीको सौन्दर्यकरण, माता कामधेनु तथा बालस्वरूप माता सीताको मन्दिर, पार्क तथा पोखरीलाई तालको रूपमा विस्तार गर्ने योजना रहेको छ।
त्यसैगरी, दूधमति नदीको बहाव क्षेत्रभित्र विभिन्न स्थानमा पार्क तथा मन्दिर निर्माण, नदी किनारमा सडक विस्तार, साथै सिँचाइका लागि ड्याम निर्माण गरिनेछ।
क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले प्रदेश सरकारको यो महत्वाकांक्षी परियोजनालाई नगरपालिका स्तरबाट पूर्ण सहयोग गरिने प्रतिबद्धता जनाए। उनले नदीको विकासले आर्थिक तथा पर्यटकीय प्रगति पनि हुने विश्वास व्यक्त गरे।