एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
जनकपुरधाममा श्री सीताराम नाम जाप महायज्ञ चैत ५ गतेदेखि चैत १४ गतेसम्म आयोजना हुने भएको छ। दण्डी बालक राघवेन्द्र दासद्वारा सञ्चालन हुने यस महायज्ञमा नेपाल र भारतका भक्तजनहरूको सहभागिता रहनेछ।
दस दिवसीय धार्मिक अनुष्ठान अन्तर्गत १०८ कीर्तन कुञ्जमा २७ सय नाम जप गरी विश्व शान्ति र मानव कल्याणका लागि विशेष प्रार्थना गरिनेछ, बाबा राघवेन्द्र दासले जानकारी दिनुभयो।
महायज्ञका अवसरमा धार्मिक प्रवचन, भजन–कीर्तन तथा हवन यज्ञ समेत आयोजना हुने आयोजकले जनाएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९, पुल चोक ५२ विगहा क्षेत्रमा महायज्ञ सम्पन्न हुने छ।
त्यस्तै, जनकपुरधाम वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र परियारले महायज्ञमा सबै भक्तजनलाई सहभागी हुन आग्रह गर्नुभएको छ।
महायज्ञको तयारीस्वरूप श्री सीताराम नाम जाप कार्यक्रम भने पुष २ गतेदेखि नै निरन्तर चलिरहेको छ।


