एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : बाबा श्री गणीनाथ गोविन्द महाराज भगवानको जयन्ती भब्य पुजापाठ गरि स्वर्ण महोत्सवका रुपमा मनाइदै छ । कानु समुदायको कुल देवता समेत रहेको भगवान गणीनाथ गोविन्द भगवानको पुजाको अवसरमा आयोजक कानु समुदायले जनकपुरधाममा भब्य कलश यात्रा र धार्मिक झाँकी नगरमा प्रदर्शन समेत गरेको छ ।
समुदायका अगुवाहरुका अनुसार बाबा श्री गणीनाथ गोविन्द महाराजको जन्मस्थली भारत विहारको बैशाली जिल्ला पटना छेउको महनारमा रहेको छ । बाबा श्री गणीनाथ गोविन्द भगवान कृष्णकै एक अवतार रहेकाले कृष्णजन्माष्टमी पछिको शनिवार हरेक वर्ष उहाँको जयन्ती मनाउने गरिएको छ ।
गोविन्द महोत्सवको अवसरमा कानु समाज परम्परा अनुसार विशेष पुजापाठ गरि मनाउने गर्दछ । अन्य समुदायले पनि बाबा श्री गणीनाथ गोविन्दलाई कुल देवताका रुपमा मान्दै पुजापाठ गर्ने गरेको उनीहरु बताउछन् ।