एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र ठुलो मानिने धनुषाको सवैला स्थित माँ दुर्गा भवानी मेलाको विधिवत तयारी शुभारम्भ भएको छ । प्रत्येक वर्ष विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार शनिवार विशेष विधीपुर्वक सवैलाको माँ दुर्गा मन्दिर अगाडि ध्वजा गाडिएको छ । नजिकैको फुलवारीमा साधुसन्त र पुरोहित सहित श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाका सचिव नथुनी यादव (हरेराम)को अगुवाईमा विधिपुर्वक बसकट्टी विधि गरि मन्दिरको अगाडि ध्वजा स्थापित गरिएको हो ।

श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व छ ।

सवैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा लाखौंको भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुजी यादव (हरेराम)को भनाई छ ।

ध्वजा स्थापित भएसंगै मेलाको विधिवत तयारी सुरु भएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र नायकको भनाई छ । मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।




