एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ ६ : जनकपुरधाम र मिथिलाञ्चलमा प्राथमिकता सहित हिन्दु धर्मावलम्वीहरु आज जानकी नवमी मनाउदै छ । प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष हर्षोल्लासपुर्वक जानकी जन्मोत्सव मनाइएपनि पछिल्लो २ वर्ष देखि कोरोना महामारीका कारण यो पर्व प्रभावित भएको छ ।
जनकपुरधाममा केहि वर्ष एता भब्यताका साथ मनाउन थालिएको जानकी नवमी गत वर्ष र यस वर्ष कोरोना महामारीका कारण प्रभावित भएको छ । भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको छ । गत वर्ष समेत नवमीमा निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञाको कारण जानकी मन्दिरको मुल गेट समेत बन्द गरिएको छ । आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल प्रवेशद्वार बन्द नै रहेको छ ।

यद्यपि मन्दिरमा हुने विधि विधान र पुजापाठ भने भएको छ । हजारौँको संख्यामा भिड रहने गरेको जानकी मन्दिर आज सुनसान देखिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले यस वर्ष पनि आ–आफ्नो घरमै पूजा अराधना गर्न स्थानियवासीलाई आग्रह गरेका छन् । उनले सर्वसाधारणको लागि मन्दिर बन्द भएपनि पुजापाठ पहिले जस्तै भइरहेको बताए । उनले भने, ‘कोरोनाको कारण प्रशासनले निषेधाज्ञा लगाएको छ । जसको कारण मन्दिर पनि बन्द छ तर दैनिक पुजापाठ र जानकी नवमीमा हुने विधिहरुमा कुनै कटौती गरिएको छैन् ।’
सावा किलो सुन चढाइयो

यसैबिच जानकी नवमीको अवसरमा आज मन्दिरमा सावा किलो सुन चढाइएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन् । यसवर्ष पनि मन्दिरका पुजारी र केही धर्मानुरागीको उपस्थितीमा मात्र जानकी नवमी मनाइएको हो । कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरे । आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजाविधी गरिने बताइएको छ ।

द रियल समाचारको सहयोगमा