एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २६ :
जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा छठ पर्वको तयारी तीव्र पारिएको छ । यस वर्ष गंगासागर घाटमा करिब आठ हजार श्रद्धालुले छठ मनाउने अनुमानसहित व्यवस्थापनको काम अघि बढाइएको छ ।
वि.सं. २०५० सालदेखि घाट व्यवस्थापन गर्दै आएको गंगासागर छठ पूजा समितिले पण्डाल निर्माण, विद्युत् बत्ती, ध्वनि प्रणाली तथा सरसफाइको कामलाई प्राथमिकता दिएको छ ।
समितिका अध्यक्ष सतिश लाल दासका अनुसार व्यवस्थापन खर्च जुटाउन प्रतिघर ६ सय रुपैयाँ सहयोग रकम निर्धारण गरिएको छ । करिब साढे तीन सय घरपरिवारबाट रसिद काटेर सहयोग संकलन गरिने र अन्य श्रद्धालुका लागि निःशुल्क व्यवस्थापन गरिने उनले बताए ।
दासले स्थानीयवासीको सहयोगमा घाट व्यवस्थापन हुँदै आएको उल्लेख गर्दै पछिल्ला तीन–चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाबाट आर्थिक सहयोग नपाएको गुनासो गरे । उपमहानगरपालिकाले सरसफाइमा सहयोग गरे पनि अन्य व्यवस्थापनका लागि बजेट उपलब्ध नगराएको उनको भनाइ छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवारसहित यस वर्ष गंगासागर घाटमा छठ मनाउने जानकारी प्राप्त भएको छ । उनको सम्भावित उपस्थितिलाई समेत ध्यानमा राखेर व्यवस्थापनलाई थप व्यवस्थित बनाइँदै छ ।