एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
जनकपुरधामको जनकचोकदेखि जानकी मन्दिर, अस्पताल रोड हुँदै रामानन्द चोकसम्म कायम गरिएको एकतर्फी यातायात व्यवस्था पुनरावलोकन गरी दुवैतर्फ सवारी सञ्चालन गर्न स्थानीयवासी तथा व्यवसायीले माग गरेका छन् ।
व्यवसायी मनिषरमण साह, शंकरप्रसाद साह, संजय साह, अजय गुप्तालगायतको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै वन वे व्यवस्थाका कारण सर्वसाधारण, बिरामी, सेवाग्राही तथा व्यवसायी प्रभावित भएको जनाएका हुन् ।
एकतर्फी व्यवस्थाका कारण छोटो दूरीका गन्तव्यमा पुग्नसमेत घुमाउरो बाटो प्रयोग गर्नुपर्दा समय र आर्थिक भार बढेको तथा अस्पताल, विद्यालय, कार्यालय र व्यापारिक क्षेत्रमा आवतजावतमा समस्या भएको उनीहरूको भनाइ छ ।
चाडपर्वको समयलाई समेत ध्यान दिँदै आवश्यक ट्राफिक व्यवस्थापनसहित चारपाङ्ग्रे सवारी तथा टेम्पोलगायतका सवारी दुवैतर्फ सञ्चालन गर्न माग गरिएको छ । साथै वन वे व्यवस्थाबारे स्थलगत अध्ययन गरी स्थानीयवासी, व्यवसायी र सरोकारवालासँग छलफल गरेर निर्णय गर्न आग्रह गरिएको छ।