एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले दिगो विकास लक्ष्य प्राप्तिका लागि सामूहिक प्रयास आवश्यक भए पनि यसको प्रमुख जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० द्वारा कायापलटको सहकार्यमा आयोजित तीन दिने कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख साहले युवाहरूको सक्रिय सहभागिताविना दिगो विकास सम्भव नभएको स्पष्ट पारे ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई दिगो विकास लक्ष्य प्राप्तिको मूल आधार रहेको उल्लेख गर्दै समुदायका सबै वर्गलाई सरसफाई, शिक्षा र स्वास्थ्यजस्ता विषयमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । “यदि युवाहरूले जिम्मेवारीका साथ अगाडि बढे भने दिगो विकास लक्ष्य हासिल गर्न गाह्रो हुँदैन,” नगरप्रमुख साहको भनाइ थियो ।
वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका छात्र–छात्रा तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा युवाहरूको सशक्तिकरण, समावेशिता र नेतृत्व विकासमा केन्द्रित विभिन्न गतिविधिहरू समावेश गरिएका थिए ।





