एसपी रिपोर्टर
जनकपुरधाम , साउन ८ : 
आगलागीपीडित परिवारहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित रतौली युवा क्लबद्वारा सञ्चालित ‘जीविकोपार्जन पुनःस्थापना परियोजना’ अन्तर्गतका गतिविधिहरूको अनुगमन गरिएको छ । उक्त परियोजना एफसिएको सहयोग र मटिहानी नगरपालिकाको समन्वयमा सञ्चालनमा आएको हो ।
अनुगमन टोलीमा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा नं. ६ का अध्यक्ष कलिम अन्सारी, वडा सचिवहरू, विभिन्न शाखाका प्रमुखहरू र रतौली युवा क्लबका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

टोलीले परियोजनामार्फत सञ्चालनमा रहेका कृषि फार्म, प्राङ्गारिक मल उत्पादन, दुना–टपरी उद्योग, पशुपालन, नास्ता पसललगायतका विभिन्न उद्यमहरूको स्थलगत अवलोकन गरेको थियो । सोही अवसरमा नगरप्रमुख मण्डलले दुना–टपरी उद्योगको औपचारिक उद्घाटन समेत गरेका थिए ।

कार्यक्रम संयोजक कृष्णबहादुर भुलका अनुसार आगलागीबाट प्रभावित परिवारहरूलाई जीविकोपार्जनका लागि आत्मनिर्भर बनाउन विभिन्न व्यवसायिक तालिमहरू प्रदान गरिनुका साथै पहिलो चरणमा ५४ परिवारलाई रु ५५,००० बराबरको आर्थिक तथा सामग्री सहयोग गरिएको छ । त्यसपछि दोस्रो चरणमा थप २५ जनालाई रु ५०,००० बराबरको व्यवसायिक सामग्री तथा नगद सहयोग गरिएको थियो ।
त्यस्तै १५ परिवारका लागि जग्गा लिजमा लिएर व्यवसायिक तरकारी खेती सुरु गरिएको छ भने अन्य १५ परिवारका सदस्यहरूलाई लाहाचुरा उत्पादन, ब्युटीपार्लर, बाइक मर्मत र ड्राइभिङ जस्ता प्राविधिक तथा व्यवसायिक तालिम दिइएको छ । बालबालिकाहरूलाई लक्षित गर्दै ६ महिनासम्मको कोचिङ कक्षा तथा शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ ।