एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
मधेस प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवर्द्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बताएका छन्।

जनकपुरधाममा बुधबार आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य श्रृंखला प्रमाणीकरण कार्यक्रममा उनले महिलालाई लक्षित योजनाहरूलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने जानकारी दिए। “अब महिलालाई अघि ल्याउने, सक्षम बनाउने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने समय आएको छ,” उनले भने।

मधेसमा कृषिको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मन्त्री जयसवालले महिलालाई कृषि, लघु उद्यम, सीप विकास र स्वरोजगारमुखी कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको बताए। नेपालमा विद्यमान ३३ प्रतिशत महिला आरक्षणलाई मधेस प्रदेशले ५० प्रतिशतमा पुर्‍याएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक कदम भने।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र युरोपेली संघ ,संयुक्त राष्ट्रसंघको सशक्त महिला, समृद्ध नेपाल परियोजना कार्यक्रमको दोस्रो चरण संचालन गर्न सम्झौता भएको जानकारी गराइएको थियो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेसका अध्यक्ष अशोक टेमानी, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, डिवि वस्नेत, सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।