एसपी रिपोर्टर
सिरहा, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चायतमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घर पुगेका छन्।सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको परिवारलाई भेटेर प्रचण्डले न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका नेताहरू आज दिवंगत रिङ्कुको घर पुगेका हुन्।प्रचण्डले आफ्नो पार्टीले संसद्मा रिङ्कुलाई न्याय दिलाउन आवाज उठाएको जानकारी दिँदै सकेसम्म चाँडो न्यायका लागि पहल गर्ने बताएका छन्।
उनका निजी सचिवालयका अनुसार, गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। तर, न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउने प्रयास गरिएको थियो। त्यसपछि उनी घरमै मृत अवस्थामा फेला परेकी थिइन्।





