एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ :
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहलाई सबल बनाउनु पर्ने बताएका छन्। आइतबार सप्तरीको राजविराजमा मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित दुईदिने “स्थानीय तहको कानुन तर्जुमा” सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरे।
मन्त्री लेखीले कानुन निर्माण गर्दा केन्द्र, प्रदेश, र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै, कुनै पनि तहले बनाउने कानुन अर्को तहसँग बाझिन नहुने बताए। उनले मधेश प्रदेश सरकारले हालसम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी दिए।
उनले समावेशी राज्य निर्माणका लागि सबै तहका निकाय समावेशी बनाउनुपर्नेमा जोड दिँदै, “राज्य र सरकारमा जाने दलहरूले आफूले समावेशी चरित्र देखाएका छन् कि छैनन् भन्ने विषयमा समीक्षा आवश्यक छ,” भने।
मन्त्रालयका उपसचिव गणेश नायकले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै, दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका मस्यौदा समिति संयोजक र दुईजना सदस्यसहित ५४ जनाको सहभागिता रहेको बताए।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री परिषदका कानुन सचिव राजन भण्डारी, न्यायाधीशहरू, र वरिष्ठ कानुन व्यवसायीहरूले सहभागीहरूलाई कानुन निर्माणसम्बन्धी प्रशिक्षण दिने जानकारी गराइएको छ।