एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
वीणा फाउन्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी विचार उत्सव २०२५’ फागुन १५ देखि १७ गतेसम्म हुने भएको छ। उत्सवको उद्देश्य कोशी प्रदेशको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक, लैंगिक, शैक्षिक, साहित्यिक, पर्यटन, र जलवायु परिवर्तन लगायतका विषयमा विमर्श गरी प्रदेशको विकास र प्रवर्द्धन गर्नु हो।
तीन दिने उत्सवमा १६ वटा विषयमा विषय-विज्ञहरुद्वारा विमर्श गरिनेछ। यससँगै युवाशक्तिको कल्पनाको कार्यक्रम, बालबालिकाको कविता वाचन प्रतियोगिता, पुरस्कार वितरण, र राष्ट्रिय-अन्तर्राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहनेछन्।
वीणा फाउन्डेशनले यसअघि सप्तरीमा ‘सप्तरी विचार उत्सव’ सफलतापूर्वक आयोजना गरिसकेको छ र आगामी दिनमा बारा जिल्लाको सिमरौनगढमा अर्को उत्सव आयोजना गर्ने योजना छ।