एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : 

महोत्तरीको बलवा नगरपालिका स्थित रहेको वाल्मिकी स्थानका महन्थ रामशंकर त्यागीले आफूलाई केही उच्छृंखल तत्वले उपद्रव गर्ने गरेको आरोप लगाएका छन् ।
पडौल स्थानबाट एक दुई किलोमिटरको दुरीमा रहेको वाल्मिकी स्थानमा वर्षौँदेखि पूजा गर्दै आईरहेपनि त्यहाँका केही उच्छृंखल तत्वले बाधा अडचन उत्पन्न गर्ने गरेको आरोप लगाए । उनले मन्दिरमा पूजा चलिरहेकै समयमा कोही मन्दिरकै घरमा ढुंगा हान्ने, छानाको टायल्स फुटाई दिने जस्तो उपद्रव गर्ने गरेको गुनासो गरे । उनले भने ‘वस्तीबाट हटेर यो मन्दिर छ, दिनभरी मन्दिरको प्रवेशद्वार बन्द गरेर राख्नु पर्छ, केही व्यक्ति मन्दिरको जग्गा नै हथियाउने उद्देश्यले यस्ता कृयाकलाप गरिरहेका छन् ।’
महन्थ त्यागीले पडौल स्थानमा पसल गर्दै आएका कमलदेव साहका ४ जना छोराहरुले बेलाबखतमा व्यक्तिगत रुपमै दुव्र्यवहार गर्ने गरेको आरोप समेत लगाए । उनका अनुसार उनीहरु पडौल बजारमै कयौँ पटक माछा झोल फाल्ने, थुक खकार फालेर उपद्रव गरेको दुखेसो पोखे । दुव्र्यवहार गर्नेहरु सुधिर साह, श्याम साह, सुशिल साह र शंकर साहले भारतबाट आएर झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको महन्थ त्यागीले बताए ।
त्यागीले उनीहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीमा फर्जी नागरिकता लिएको भन्दै सो नागरिकता रद्द गर्न माग समेत गरेका छन् । उनले प्रशासन कार्यालयमा दिएको निवेदन निज व्यक्तिहरु भारतको बिहार राज्य सीतामढी जिल्ला स्थित रुन्नी सैदपुर गाउँको रहेको स्पष्ट गरिएको छ ।
महन्थ त्यागीका अनुसार मन्दिरमा हुने उपद्रवहरुमा यिनीहरुको संलग्नता रहेको भन्दै फजी नागरिकता रद्द गरी शान्ति सुरक्षा कायम गरी दिन माग गरेका हुन् ।