एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १९ :
जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ तथा होटेल व्यवसायी संघका पदाधिकारीहरु छलफलमा जुटेका छन् । जनकपुरधामको पर्यटन क्षेत्र उकास लाग्न नसकि रहेको समयमा उद्योग वाणिज्य संघ र होटेल व्यवसायी संघ छलफलमा जुटेको हो ।
बुधबार दूबै पक्षबिच भएको छलफलमा होटेल व्यवसायीहरुको समस्या, सोको समाधान तथा पर्यटन प्रवद्र्धनका लागि अपनाउन सकिने उपाय लगायतका विषयमा छलफल गरिएको हो ।
जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेपनि त्यो फस्टाउन नसक्नुको कारण पत्ता लगाउने उद्देश्यले छलफल अगाडी बढाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । जनकपुरधामको विकासका साथै यहाँको पर्यटन क्षेत्रको विकासका लागि होटेल व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने सक्ने महासेठको भनाई थियो । उनले यहाँको होटेल व्यवसाय फस्टाएमा चौतर्फी रुपमा यहाँको बजार व्यवसाय पनि फस्टाउने बताए ।
बुधबार भएको छलफलमा होटेल व्यवसायीहरुले नगरमा रहेको सरसफाईको समस्या, उपमहानगरबाट हुँदै आईरहेको असहयोग लगायतका विषयमा गुनासो गरेका थिए । होटेल व्यवसायीहरुको तर्फबाट कुनै किसिमको कमी कमजोरी नरहेको दावी होटेल व्यवसायीहरुले गरेका थिए ।
पर्यटक भित्रयाउन अपनाउन सकिने उपाय, जनकपुरधामको मार्केटिङ्ग, जनकपुरधामका विषयमा फैलाइएका भ्रम चिर्न चाल्न सकिने कदम, होटेल व्यवसायीहरुको भूमिका लगायतको विषयमा छलफल गरिएको थियो ।
छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिषरमण साह, संघका उपाध्यक्ष अम्भु साह होटेल संघ नेपालका विजय झुनझुनवाला, पर्यटन तथा होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।