एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २९ : जगतजननी माता जानकीको नगर जनकपुरधामको मुख्य सम्पती, घरोहर र पहिचान जानकी मन्दिरलाई ट्रष्टीकरणको अभियानका लागि एक पछि अर्को संस्थाहरु निर्णय गर्न थालेका छन् । सोहि क्रममा जनकपुरधाम स्थित श्री राजदेवी माता मन्दिरको व्यवस्थापन, संरक्षण र सम्वद्र्वन गर्ने संस्था समेत रहेको श्री महावीर युवा कमिटीले समेत श्री जानकी मन्दिरको ट्रष्टीकरणमा जोड दिएका छन् ।
सोमवार बसेको कमिटिको बैठकले महन्त गुरुचेला बिचको बिबाद र खिचातानीका कारण जानकी मन्दिरको समग्र विकास हुन नसक्ने बताउदै ट्रष्टीकरणको विकल्प नरहेको ठहर गरेको छ । स्थानियहरुसंगको छलफल पश्चात मन्दिरको विकास, संरक्षण र सम्वद्र्वनका लागि ट्रष्टीकरण मात्र एक विकल्प रहेकाले त्यसका लागि पहल गर्न कमिटी लागि पर्ने निर्णय गरिएको अध्यक्ष सन्तोष कुमार साह र महासचिव रंजित कुमार भगतद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । यस अघि सोमवार नै उद्योग बाणिज्य संघ जनकपुरधाममा भएको छलफलमा जनकपुरधाम उधोग वाणिज्य संघद्वारा जानकी मन्दिरलाई ट्रष्टिकरण गर्न स्थानिय, प्रदेश र नेपाल सरकारसंग आवयश्क पहल तथा समन्वयका लागि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा)को संयोजकत्वमा ११ सदस्सीय समिति बनाइएको छ ।